पर्सामा मानव वन्यजन्तु द्वन्द्व बढ्दै

पर्सामा मानव वन्यजन्तु द्वन्द्व बढ्दै



पर्सा । मानव वन्यजन्तु द्वन्द्व बढ्दै गएको छ । गएको भदौको ७ गते जिराभवानी गाउँपालिका–५ का ६० वर्षीय तुलसी राउत थारूको घर नजिकै जङ्गलमा घाँस काट्न जाँदा बाघको आक्रमणबाट ज्यान गएको थियो । थारूलाई आक्रमण गर्ने बाघ पर्सा राष्ट्रिय निकुञ्जबाट एक किलोमिटर टाढा रहेको बस्तीमा आइपुगेको थियो ।

यस्तै वैशाख २९ गते पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ औराहाका भीमबली महतो थारू आफ्नो मकैबारीमा पुगेका बेला बाघले आक्रमण गरेर गम्भीर घाइते भएका थिए । डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले जिल्लामा वन्यजन्तु र मानवबीच द्वन्द्वका घटनामा वृद्धि भइरहेको बताए । पानीको स्रोत सुकेसँगै तिर्खाएका वन्यजन्तु आफ्नो प्यास मेट्नका लागि बस्तीमा आउने गर्छन् ।

यसै क्रममा वन्यजन्तु र मानवबीच द्वन्द्व सृजना हुँदै आएको उनले बताए । यस्तै उमेर ढल्केका बाघ सिकारको खोजीमा गाउँबस्तीमा आउँदा पनि वन्यजन्तु र मानवबीचको द्वन्द्व भइरहेको छ । प्रमुख कर्णले निकुञ्ज क्षेत्रमा रहेका वन्यजन्तुका लागि पानीका पोखरी निर्माण गर्न आवश्यक रहेको बताए । डिभिजन वन कार्यालयकाअनुसार गएको आर्थिक वर्षमा पर्सामा वन्यजन्तु र मानवबीच द्वन्द्व हुँदा तीनवटा बाघ मारिएका थिए ।