अब प्रधानमन्त्री नबन्न देउवालाई विश्वप्रकाशको आग्रह

अब प्रधानमन्त्री नबन्न देउवालाई विश्वप्रकाशको आग्रह



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब प्रधानमन्त्री नबन्न आग्रह गरेका छन् ।

आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री त्याग गर्न आग्रह गरेका हुन् । प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै शर्माले उनीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने बताए ।

‘एमालेसँग असार १७ गते भएको ७ बुँदे सहमति अनुसार २०८३ असारसम्म केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसको सम्पूर्ण ध्यान लगाउनुपर्छ र एकताबद्ध रूपले प्रधानमन्त्रीलाई साथ दिनुपर्छ,’ शर्माले भने, ‘तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नु हुँदैन । आफ्नो पुस्ताका कोही एक नेतालाई उहाँले प्रधानमन्त्रीको प्रस्ताव गर्नुपर्छ ।’

‘उहाँहरु मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने – एक, सभापतिको त्याग देखिन्छ । दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ । तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं’, शर्माले भने ।

शर्माले डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिए ।

गत असार १७ गते कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच पहिलो दुई वर्ष ओली प्रधानमन्त्री र त्यसपछि चुनाव गराउने गरी डेढ वर्ष देउवा प्रधानमन्त्री बन्ने लिखित सहमति छ ।

महामन्त्री शर्माले सम्भव भए २०८२ मै महाधिवेशन गर्नुपर्ने बताएका छन् । उनले ८२ मा सम्भव नभए ८३ को वैशाखबाट महाधिवेशन प्रारम्भ गर्नुपर्ने बताए । ‘८२ मा सबै तहको महाधिवेशन गर्न सकिन्छ हिंसा पनि छैन भूकम्प र कोरोना पनि छैन ।’

महामन्त्री शर्माले आफूले ल्याएको एक्जिट पोलीसी परिमार्जन हुने बताएका छन् । बैठकमा बोल्दै उनले एक्जटि पोलीसीको विषय संविधान संसोधनको समयमा बहस गर्ने सहमति भएको बताएका हुन् ।