उपल्लो डोल्पामा बाह्रवर्षे ‘शे’ मेला शुरू

उपल्लो डोल्पामा बाह्रवर्षे ‘शे’ मेला शुरू



डाेल्पा । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ्गको शेल गुम्बामा बाह्रवर्षे ‘शे’ मेला शुरू भएको छ ।

‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ भन्ने मूल नाराका साथ ६७औं मेला शुरू भएको गाउँपालिकाका उपाध्यक्ष एवम् प्रचारप्रचार उपसमितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिए । हरेक बाह्र वर्षमा एकपटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै डोल्पाको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पहिचान झल्काउने उनले बताए ।

मेलाबाट सामाजिक एकता एवम् सद्भाव कायम गर्नुका साथै ऐतिहासिक, प्राकृतिक तथा पुरातात्त्विक सम्पदाको विश्वसामु प्रचारप्रचार हुने आयोजकले जनाएको छ ।

मेलामा सहभागी हुन पूर्वमन्त्री तथा डोल्पाका लागि सङ्घीय सांसद धनबहादुर बुढा, डाक्टर सन्दुक रुइत, बौद्ध धर्मावलम्बीका प्रमुख लामालगायत व्यक्ति पुगेका छन् । मेला चार दिनसम्म सञ्चालन हुनेछ ।