इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध विरोध प्रदर्शन चर्कियाे

इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध विरोध प्रदर्शन चर्कियाे



काठमाडौँ । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । हजारौँ मानिस सडकमा आएर विरोध प्रदर्शन गरिरहेका छन् । गाजामा बन्धक बनाएका ६ जनाको शव भेटिए पछि हिजोदेखि प्रदर्शन चर्किएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न विद्रोही लडाकु समूह हमाससँग सम्झौता गर्नुपर्ने नागरिकको मुख्य माग छ ।

तेल अवीव, जेरुसेलम र अन्य धेरै शहरहरूमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू निस्किएका छन् । हिजो शान्तिपूर्ण रुपमा आन्दोलन शुरु भए पनि प्रदर्शन चर्किएर तेल अवीवका प्रमुख राजमार्गहरू अवरुद्ध भएका बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री नेतन्याहु र उहाँको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न पहल नगरेको आरोप प्रदर्शनकारीको छ । गएको वर्ष अक्टोबर ७ तारिखमा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाएको थियो । यसैबीच इजरायलको ट्रेड युनियनले हमाससँगको सम्झौताका लागि सरकारलाई दबाब दिन भन्दै आज देशव्यापी हडताल गरेको छ ।