गण्डकी सरकार नौ सदस्यीय, एमालेबाट चार मन्त्री

गण्डकी सरकार नौ सदस्यीय, एमालेबाट चार मन्त्री

प्रकाशबहादुर बने भौतिक पूर्वाधार मन्त्री, मनाङेलाई वन



पाेखरा । संघमा नेकपा (एमाले) र कांग्रेसको संयुक्त सरकार बनेको करिब दुई महिनापछि गण्डकी सरकारमा एमाले सामेल भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेबाट मन्त्रीहरु थप गरी सोमबार मन्त्रिपरिषद्को जिम्मेवारीमा समेत हेरफेर गरेका हुन् ।

एमालेबाट मन्त्री बनेकी नवलपुरकी संसाद पद्मा जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउनुभएको छ । बागलुङका संसाद कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालय पाएका छन् ।

समानुपातिकबाट सांसद बनेका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था पाएका छन् । पर्वतबाट निर्वाचित सांसद मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसअघि भौतिक पूर्वाधार मन्त्री रहनुभएका राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । स्वतन्त्र सांसद गुरुङको मन्त्रालय हेरफेर गरेका मुख्यमन्त्रीले नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई भने पुरानै मन्त्रालय ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

आइतबार मात्रै मुख्यमन्त्री पाण्डेले मन्त्रालयको संख्या सातबाट बढाएर नौ बनाएका थिए । सोमबारको मन्त्रिमण्डल विस्तारपछि गण्डकी सरकारले पूर्णता पाएको छ । नवनियुक्त मन्त्रीहरुले आजै शपथ लिएका छन् ।