बाँके । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र नेकपा एमालेबिच सत्ता गठबन्धन भएपछि आम जनतामा नयाँ किसिमको आशा र उत्साह देखिएको बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी बाँकेका पदाधिकारी तथा सदस्यहरूको क्षमता विकास सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रमको सोमबार बर्दियाको ठाकुरद्वारामा उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकमा लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता अन्त्यका लागि गठबन्धन बनेको दाबी गरे ।
महासचिव पोखरेलले भने, “संविधान र कानुनमा समयानुकूल सुधारका लागि राजनीतिक रूपमा अनुकूलता रहेको छ, जनताले आशा र अपेक्षा पनि गरेका छन् ।” राजनीतिक अस्थिरताले देश विकासमा अवरोध भएको भन्दै उनले राजनीतिक पार्टी बलियो हुन आवश्यक रहेकोमा जोड दिए ।
आर्थिक विकास र समृद्धिका लागि विगतमा माओवादीसँग पार्टी एकता गरिएको भए पनि असफल भएको बताए । महासचिव पोखरेलले १० औँ महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम र कार्यदिशा तथा नेपालमा राजनीतिक दलहरूको तुलनात्मक अध्ययनका विषयमा प्रशिक्षण दिए ।
प्रतिक्रिया