रुसका लागि जासुस गरेको आरोप लागेको ह्वेल नर्वेको तटमा मृत भेटियो

रुसका लागि जासुस गरेको आरोप लागेको ह्वेल नर्वेको तटमा मृत भेटियो



काठमाडौँ । रुसले तालिम दिएर जासुसी गर्न प्रयोग गरेको आरोप लागेको ‘ह्वाल्दिमिर’ नामको ह्वेल नर्वेको तट नजिकै मृत अवस्थामा फेला परेको छ । जीवको गतिविधि अध्ययन गर्दै आएको मरीन माइन्ड नामको संस्थाले ‘बलुगा प्रजाति’ को ह्वाल्दिमिरको शव फेला पारेको हो ।

बलुगा प्रजातिका ह्वेल ६० वर्षसम्म बाँच्छन् । ह्वाल्दिमिरको उमेर १५ वर्ष भएको अनुमान गरिएको तर मृत्युको कारण थाहा भइनसकेको मरीन माइन्डलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

नर्वेले त्यो ह्वेलको नाम ह्वाल्दिमिर राखेको थियो । नर्वेली भाषामा ह्वेललाई ह्वाल भन्ने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पहिलो नाम मिसाएर त्यसलाई ह्वाल्दिमिर भन्न थालेको बीबीसीले जनाएको छ ।

पाँच वर्षअघि नर्वेको पानीमा पहिलो पटक देखा परेको ह्वेलको टाउकोमुनि एउटा पट्टी बाँधिएको थियो । त्यसमा गोप्रो क्यामरा जडान गरिएको थियो । त्यसपछि नर्वेले रुसले ह्वेललाई जासुसका लागि प्रयोग गरेको आरोप लगाएको थियो ।

यो विषयमा रुसले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । रुसले पहिलादेखि नै डल्फिनजस्ता समुद्री जीवलाई सैन्य प्रयोजनका लागि तालिम दिँदै आएको थियो ।