लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो

लेक लागेर मृत्यु हुने पर्यटकको सङ्ख्या बढ्दो



मनाङ । पदयात्रा र तीर्थयात्राका लागि गत वर्ष मुस्ताङ गएका २१ पर्यटक उतै अस्ताए । छ नेपालीसहित ११ भारतीय, मलेसियाका दुई, युक्रेनका एक र एक बेलायती नागरिकले यात्राका क्रममा लेक लागेर मृत्युवरण गरे । अधिकांश लेक लागेका घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आव २०७८/७९ मा छजनाको लेक लागेर मृत्यु भएकामा आव २०७९/८० मा १२ जनाको लेक लागेर मृत्यु भएको थियो । कार्यालयका प्रहरी निरीक्षक विशाल अधिकारीका अनुसार गत आवमा १४ जनाले लेक लागेर मुस्ताङमा ज्यान गुमाए । लेक लागेर मृत्यु हुनेमा प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तीर्थयात्री बढी छन् ।

चौधमध्ये दश भारतीय, तीन नेपाली र एक युक्रेनी नागरिक रहेको प्रहरी निरीक्षक अधिकारीले बताए । “मुस्ताङमा लेक लागेर मृत्यु हुनेको सङ्ख्या बर्सेनि बढ्दै गएको देखिन्छ”, उनले भने, “पछिल्लो समय मुक्तिनाथमा लेक लागेका पर्यटकको प्रारम्भिक उपचार र उद्धारका लागि आकस्मिक कक्षसमेत सञ्चालनमा आएको छ ।”

पर्यटक पथप्रदर्शक दिवस गुरुङले भारतीय पर्यटक गाडीबाट एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या देखिने गरेको बताए ।

काठमाडौँ उपत्यकालगायत तराई भेगबाट तिलिचो ताल पुग्ने नेपालीमा पनि लेक लाग्ने समस्या बढी देखिने गरेको पथप्रदर्शक गुरुङले बताए । “पदयात्रा गर्नेहरु ठाउँठाउँमा विश्राम लिँदै जाने हुँदा लेक लाग्ने सम्भावना न्यून हुन्छ, गाडी र मोटरसाइकलमा एकैपटकमा उचाइमा जानेहरुलाई बढी समस्या देखिने गरेको छ”, उनले भने ।

मुक्तिनाथ समुद्र सतहदेखि तीन हजार सात सय १० मिटर र तिलिचो ताल चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित छ । स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्नु नै लेक लाग्ने समस्याबाट बच्ने उत्तम उपाय रहेको पथप्रदर्शक गुरुङको भनाइ छ । उनले पदयात्रा गर्ने पर्यटकलाई एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्न सुझाए । शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा जानुपर्ने पथप्रदर्शक गुरुङले बताए ।

धवलागिरि अस्पतालका प्रमुख चिकित्सक रविरञ्जन प्रधानले लेक लाग्दा अक्सिजनको मात्रा घट्न गई मानिसको ज्यान जाने गरेको बताए । “लेक लाग्दा शरीरमा अक्सिनको कमी भई टाउको र फोक्सोमा पानी जमेर बिरामीको मृत्यु हुन्छ”, उनले भने, “लेक लाग्नबाट जोगिन लक्षण देखिँदासाथ यात्रा रोकेर तुरुन्त कम उचाइ भएको ठाउँमा फर्कनुपर्छ ।” लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिने गरेको प्रमुख चिकित्सक प्रधानको भनाइ छ ।