काठमाडौँ। पछिल्लो समय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन प्रवर्द्धनलाई डिजिटल माध्यमबाट प्रचार-प्रसार गर्ने विषयलाई प्राथमिकतामा राख्दै आएका छन् । जस अनुसार नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्म टिकटकमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा विभिन्न ७ देशका ट्राभल कन्टेन्ट क्रिएटरहरू नेपाल आइपुगेका छन् ।
फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, यूएई, बंगलादेश र श्रीलंकाका क्रिएटरहरूलाई नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक गतिविधि तथा पर्यटनका विविध अनुभव विश्वभरका दर्शकमाझ पुर्याउने उद्देश्यले उनीहरूलाई नेपाल बोलाइएको हो ।
उनीहरूमध्ये यूएई र ट्युनिसियाका क्रिएटर ३ जना फ्लाई दुबईको विमानबाट सिधै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनीहरूलाई नेपाल पर्यटन बोर्डका बोर्ड सदस्य सन्तोष पोखरेल, बोर्डकै वरिष्ठ प्रबन्धक सूर्य थपलिया, पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेल र नाटा गण्डकीका अध्यक्ष संगिता पौडेललगायतले स्वागत गरेका थिए । त्यसैगरी अन्य क्रिएटरहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा बोर्डका वरिष्ठ अधिकृतद्वय कुन्दन शर्मा र सरोज महर्जनले स्वागत गरेका थिए ।
यस कार्यक्रमअन्तर्गत क्रिएटरहरूले पोखरा, चितवन र बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमण गरी त्यहाँका आकर्षण, स्थानीय जीवनशैली, संस्कृति, प्रकृति र पर्यटन गतिविधिसम्बन्धी भिडियो तथा डिजिटल सामग्री उत्पादन गर्नेछन् । उनीहरूले टिकटकसहितका सामाजिक सञ्जालमार्फत ती सामग्री सार्वजनिक गर्दै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा चिनाउन सहयोग गर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले बताएका छन् ।
एनटीबी र टिकटकबीच यसअघि सन् २०२५ अगस्ट १९ मा नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । उक्त सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफटाइम एक्सपिरियन्सेस’ अभियानले नेपालको हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई टिकटकका छोटा भिडियोमार्फत विश्वभरका दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ । बोर्डका वरिष्ठ प्रबन्धक थपलियाले भने, “अभियानमा अन्तर्राष्ट्रिय तथा नेपाली कन्टेन्ट क्रिएटरलाई सहभागी गराउने र उनीहरूलाई नेपालका विभिन्न गन्तव्यको अनुभव गराएर सामग्री उत्पादन गर्न प्रोत्साहित गरिनेछ । यसरी उत्पादन गरिएका सामग्रीहरूलाई टिकटकमार्फत प्रवर्द्धन गरिने छ ।” यस सहकार्यलाई प्रभावकारी बनाउन सन् २०२६ मा पनि डिजिटल पर्यटन प्रवर्द्धनका गतिविधिलाई निरन्तरता दिइएको वरिष्ठ प्रबन्धक थपलियाले बताए ।
यसअघि गत जुन २४ देखि २६ सम्म काठमाडौंमा बोर्ड र टिकटकको संयुक्त आयोजनामा तीन दिने ट्राभल कन्टेन्ट क्रिएसन कार्यशाला सम्पन्न भएको थियो । उक्त कार्यशालामा पर्यटन व्यवसायी, डिजिटल क्रिएटर, पदयात्रा व्यवसायी, पर्वतारोही तथा पर्यटन क्षेत्रका सरोकारवालालाई डिजिटल स्टोरीटेलिङ, भिडियो निर्माण र सामाजिक सञ्जालमार्फत गन्तव्य प्रवर्द्धनका लागि प्रशिक्षण दिइएको थियो ।
यसपटकको भ्रमणमा सहभागी हुने क्रिएटरहरूमध्ये बंगलादेशका अनिर्बान कैसर, श्रीलंकाका कसुन सम्पथ देगोडा गमागे, ट्युनिसियाकी बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी र यूएईका मोहम्मद नाबिलले पोखराका पर्यटकीय आकर्षणलाई प्राथमिकतामा राखेर सामग्री निर्माण गर्नेछन् । फ्रान्सका जेरेमी ब्युडेट चितवन पुगेर त्यहाँको वन्यजन्तु, निकुञ्ज तथा थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभवलाई समेट्नेछन् । त्यसैगरी पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्ग्यु लीले बर्दियाको प्राकृतिक वातावरण, वन्यजन्तु तथा समुदायमा आधारित पर्यटनका सम्भावनालाई आफ्ना सामग्रीमार्फत प्रस्तुत गर्नेछन् ।
भ्रमणका क्रममा क्रिएटरहरूले सम्बन्धित गन्तव्यका प्राकृतिक तथा सांस्कृतिक विशेषतासँगै स्थानीय पर्यटन व्यवसाय, आतिथ्य सेवा, खानपान, साहसिक गतिविधि र पर्यटकले लिन सक्ने मौलिक अनुभवलाई समेत समेटेर सामग्री उत्पादन गर्ने वरिष्ठ प्रबन्धक थपलियाको भनाई छ ।
डिजिटल माध्यमबाट पर्यटकीय गन्तव्यको प्रचार गर्ने अभियानले वास्तविक यात्राका अनुभव, दृश्य र व्यक्तिगत कथामार्फत सम्भावित पर्यटकलाई आकर्षित गर्न मद्दत गर्ने विश्वास गरिएको छ । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय टिकटकमा प्रसारण हुने छोटा भिडियोले नयाँ गन्तव्यको पहिचान विस्तार गर्नुका साथै पर्यटकहरूलाई गन्तव्यको यात्राका लागि निर्णयमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल प्लेटफर्म र सिर्जनात्मक सामग्रीको प्रयोगलाई प्राथमिकता दिँदै आएको बोर्डले अन्तर्राष्ट्रिय क्रिएटरसँगको सहकार्यलाई नेपालको पर्यटन कथा विश्व बजारमा पुर्याउने प्रभावकारी माध्यमका रूपमा अघि बढाएको छ । यसबाट पोखरा, चितवन र बर्दियाजस्ता स्थापित तथा सम्भावनायुक्त गन्तव्यको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा टेवा पुग्नुका साथै स्थानीय पर्यटन व्यवसाय र समुदायलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।
नेपालका हिमाल, प्रकृति र संस्कृतिलाई विश्वका विभिन्न देशका दर्शकमाझ पुर्याउने यो पहलले डिजिटल पर्यटन प्रवर्द्धनलाई थप विस्तार गर्ने विश्वास बोर्डले लिएको छ ।


प्रतिक्रिया