मन्त्रीहरु जिब्रोमा ब्रेक लगाएर बोल्नुस् : सांसद खतिवडा

मन्त्रीहरु जिब्रोमा ब्रेक लगाएर बोल्नुस् : सांसद खतिवडा



काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले प्रदेशमा मन्त्री बिक्रीको अभिव्यक्ति आएको भन्दै यस्ता अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि नेपाल प्रहरीको महानिरीक्षकको जिब्रो थुत्नुपर्दछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । उनले सो अभिव्यक्तिको सम्बन्धमा संसदमा जवाफ दिन माग गरे । उनले मन्त्रीलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरे ।

उनले भने, ‘म सत्तारुढ पक्षकै सांसद हुँ । तर सूचना तथा सञ्चारमन्त्रीले केही दिन पहिला नेपाल प्रहरीका आइजिपीका जिब्रो थुत्नुपर्दछ भनेर अभिव्यक्ति दिनुभएछ । यो अभिव्यक्ति आपत्तिजनक छ।मन्त्रीहरुलाई आग्रह गर्न चाहन्छु, जिब्रोमा ब्रेक लगाइयोस्।अन्त कहाँ–कहाँ लगाउनुपर्ने हो ब्रेक लाग्दै गर्ला।तर मन्त्रीहरुले चाहिँ जिब्रोमा ब्रेक लगाएर बोल्ने गरियोस् ।सभामुखसँग अनुरोध गर्न चाहन्छु यसको जवाफ संसदमा दिइयोस् ।’

त्यसैगरी सांसद खतिवडाले गण्डकी प्रदेशमा मन्त्रीको पद बिक्री गर्न लागिएको भन्ने चर्चा चलेको भन्दै सो अभिव्यक्तिको सन्दर्भमा सरकारसँग जवाफ माग गरेका छन् ।

उनले भने, ‘गण्डकी प्रदेशमा मन्त्रीको पद नै बिक्री गर्न लागियो भन्ने चर्चा छ । यो के हो ? यो बारे कसले जवाफ दिनुपर्ने हो, यसको जवाफ हामी खोज्न चाहन्छौँ । मन्त्रीको पद पैसामा बिक्री गर्न सुरुवात गरेको हो कि होइन ? यस्ता अभिव्यक्ति किन आउँछन् योबारे सरकारले जानकारी देओस् ।’