काठमाडौं । एमाले बैठकमा पार्टीभित्र आर्थिक र यौन विचलनका घटनामा वृद्धि भएको विषयले प्रवेश पाएको छ ।
एमाले पोलिटब्युरो बैठकको पहिलो दिन महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीमा आर्थिक र यौन विचलनका घटना बढेको उल्लेख छ । पोखरेलले प्रतिवेदनमा ‘पार्टी जीवनको शुद्धिकरण’ शीर्षकमा नेता कार्यकर्ताको जीवनशैली र यौन आचरण सुधार हुनुपर्ने उल्लेख छ ।
एमालेमा आफूलाई अरुभन्दा विशेष ठान्ने र आफ्ना लागि विशेष व्यवस्थाको अपेक्षा गर्ने प्रवृत्ति देखिएको पोखरेलले औंल्याएका छन् ।
‘जनताले उचित नठान्ने काम कारबाही, आफूलाई अरु भन्दा विशेष ठान्ने र आफ्ना लागि विशेष व्यवस्थाको अपेक्षा गर्ने प्रवृत्ति देखा परेको छ’, पोखरेलले प्रस्तावमा लेखेका छन्, ‘आर्थिक आचरण र यौन आचरणमा कानूनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति हुर्किंदै छन् ।’ त्यस्तो प्रवृत्ति रोक्न कारबाहीको व्यवस्था गरिनुपर्ने प्रस्ताव महासचिव पोखरेलले राखेका छन् ।
पोखरेलको प्रस्ताव पोलिट्ब्युरोले पारित गरेपछि केन्द्रीय समितिमा प्रस्तुत हुनेछ । पोखरेलले नेताहरुको आचरण सुधार हुनुपर्नेमा प्रस्तावमा जोड दिएका छन् ।
‘आर्थिक–सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरुका सन्दर्भमा सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा त्यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ’, पोखरेलको प्रस्तावमा छ ।
पार्टीका नेतादेखि कार्यकर्तासम्मले सरल जीवनशैली अपनाउनुपर्ने तथा कानून र सामाजिक नैतिकताको सीमामा बस्ने संस्कृति निर्माण गरिनुपर्नेमा पोखरेलले जोड दिएका छन् ।
प्रतिक्रिया