अज्ञात समुहद्वारा टेलिकम टावरमा तोडफोड

अज्ञात समुहद्वारा टेलिकम टावरमा तोडफोड


ग्लोब नेपाल
108
Shares

बैतडी । अज्ञात समुहद्वारा सिगास गाउँपालिका-१ जुकेपानीमा रहेको नेपाल टेलिकमको टावर तोडफोड गरिएको छ । स्थानीय गाजरी बजारबाट ३ घण्टाको पैदल दुरीमा रहेको टेलिकमको टावरमा तोडफोड गरिएको वडा अध्यक्ष रामचन्द्र ऐरले बताए ।

टावरमा राखिएको कृषि विकास बैङ्कको सर्भर उपकरण समेत तोडफोड गरिएको उनले बताए । भदौ १५ गतेबाट बैङ्कमा इन्टरनेट नचलेपछि बैङ्कका कर्मचारी टावर हेर्न जाँदा टावर तोडफोड गरिएको अवस्थामा भेटिएको थियो ।

टावर क्षति भएको बारेमा आज बिहानमात्रै जानकारी भएकाले प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका इन्सपेक्टर खेमविक्रम केसीले बताए । प्रहरी टोली पुगेपछि घटनाबारे थप अनुसन्धान थालिने केसीले बताए ।

स्थानीय क्षेत्रमा इन्टरनेट नचलेपछि गाँजरीमा रहेको कृषि विकास बैङ्कले सेवा उपलब्ध गराउन असर्मथ रहेको सूचना समेत जारी गरेको छ । घटना व्यक्ति अथवा समुह कसले गराएको हो भन्ने एकीन हुन नसकेको प्रहरीले जनाएको छ ।