साफ महिला फुटबलको खेल तालिका सार्वजनिक

साफ महिला फुटबलको खेल तालिका सार्वजनिक



काठमाडौं । दक्षिण एसिया फुटबल महासंघ (साफ) महिला फुटबल च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

दशरथ रंगशालामा अक्टोबर १७ देखि ३० तारिखसम्म आयोजना हुने च्याम्पियनसिपमा नेपालको पहिलो खेल भुटानसँग परेको छ । साफले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार समूह ‘बी’ मा रहेको नेपालले अक्टोबर २१ मा माल्दिभ्स र २४ तारिख श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै समूह ‘ए’ मा साबिक विजेता बंगलादेश, भारत र पाकिस्तान रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले लगातार तेस्रो पटक महिला साफ आयोजना गर्न लागेको हो ।

यसअघि सन् २०१९ र २०२२ मा पनि महिला साफ नेपालले आयोजना गरेको थियो । अघिल्लो संस्करणको फाइनलमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।