कोशी प्रदेश सरकारमा कांग्रेसले क-कस्लाई बनाउँदै छ मन्त्री ?

कोशी प्रदेश सरकारमा कांग्रेसले क-कस्लाई बनाउँदै छ मन्त्री ?

कोशी प्रदेश सरकारले यही साता पूर्णता पाउने



काठमाडौं । कोशी प्रदेश सरकारले ढिलोमा शुक्रबारसम्ममा पूर्णता पाउने भएको छ । नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेसलाई पाँच मन्त्रालय दिन सहमति जनाएसँगै सरकारले पूर्णता पाउने भएको हो । फुटाएर मन्त्रालयको संख्या बढाउनुभन्दा कांग्रेसलाई एउटा मन्त्रालय थप्न मुख्यमन्त्री कार्की सहमत भएका हुन् ।

कांग्रेसमा संस्थापनइतर समूहले मन्त्रीको नाम नपठाउँदा सरकार विस्तारमा अवरोध सिर्जना भएको थियो । शेखर कोइराला समूहले आकांक्षी धेरै भएकाले मन्त्रालय फुटाएर भएपनि आफूहरुलाई दुई मन्त्रालय चाहिने अडान लिएपछि कांग्रेसले मन्त्रीको नाम फाइनल गर्न सकेको थिएन । कांग्रेसले संस्थापनबाट हिमाल कार्की र प्रदीप सुनुवारलाई मन्त्री बनाउन तयार पारेको छ भने सिटौला समूहबाट भुपेन्द्र राईको नाम सिफारिस भएको छ ।

शेखर समूहमा परेको दुईवटा मन्त्रालय अहिलेसम्म ३ जनाको नाम आइरहेको छ । मानबहदुर चबेगु, इन्दिरा थापा र रामकुमार खत्रीको नाम मन्त्री हुने लिस्टमा छ । खत्री र थापा यसअघि पनि मन्त्री बनिसके पनि महिला कोटाबाट थापा र चबेगु मन्त्री बन्ने सम्भावना बलियो रहेको समाचारस्रोतले बतायो ।

कांग्रेसले नाम फाइनल गरेर पठाउने वित्तिकै मन्त्रिपरिषद् विस्तार गर्न मुख्यमन्त्री तयारी अवस्थामा रहेको बुझिएको छ । सम्भवतः शेखर समूहले पार्टी सभापति शेरबहादुर देउवालाई मन्त्रीको नाम सिफारिस गर्ने वित्तिकै कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मन्त्रालय तोकेरै मन्त्री बन्नेको नाम टिपाउने भएका छन् ।