उदयपुरको सोरुङ छविसेमा आमा छोराको हत्या

उदयपुरको सोरुङ छविसेमा आमा छोराको हत्या


ग्लोब नेपाल
135
Shares

कटारी(उदयपुर) । यहाँको कटारी नगरपालिका– १० सोरुङ छविसेमा आमा छोराको हत्या भएको छ । वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षिया निर्मला थापा र उनका छोरा अन्दाजी छ वर्षीय आरुस थापाको आज बिहान पसलमै शव भेटिएको हो ।

वडाध्यक्ष क्षेत्रबहादुर खड्काका अनुसार बिहान पसलमा आउने ग्राहकहरूले आमा छोराको शव देखेका थिए । “आमाको शव भुईँमा घोप्टो परेको र छोराको खाटमा रगतमा डुबेको अवस्थामा फेला परको हो”, वडाध्यक्ष खड्काले भने, “छोराको शवमा हतियार प्रहार गरेको चोटहरू देखिएको जानकारी आएको छ ।”

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोले बिहानै घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल तर्फ पठाइसकेको बताए । प्रहरी निरीक्षक महतोले भने, “प्रहरी घटनास्थल पुग्नै लागेको छ । पुग्ने बित्तिकै अनुसन्धान सुरु गर्छौं ।”

घटनास्थल कटारी बजारबाट ३२ किलोमिटर उत्तरपहाडी भेगमा पर्दछ । वडाध्यक्ष खड्काका अनुसार मृतक निर्मला थापाका श्रीमान् अशोक थापा दुई वर्ष अघि कान्छी श्रीमती लिएर भारततिर गएका थिए । उनले भने, “तीन सय मिटर पर मूल घर थियो गएराति चाहिँ पसलमै बास बसेका रहेछन्, त्यही बेला घटना घटेछ ।”

घटनास्थल पुगेका कटारी नगरपालिकाकी कार्यपालिका सदस्य गीताकुमारी गिरीले प्रहरी चौकी बतासेबाट प्रहरी आइपुगेको र अनुसन्धान प्रक्रिया अघि बढेको जानकारी दिइन्। स्थानीय दिपक राउतले बुधबार साँझ ८ बजेसम्म मूल घरको देवरहरूसँग मृतक निर्मलाको फोनमा कुरा भएको बताइन्।

“साना साना देवरहरु थिए उनीहरूलाई बिहान आउँछौ भनेका थिए रे”, राउतले भने, “बिहान घरमा खसी काट्ने सल्लाह थियो रे राति हत्या भएछ ।”बिहान घटनाबारे थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तीज मनाउने तयारीमा रहेको गाउँमा हत्याको घटनापछि स्थानीयवासी शोकमा छन् ।