ढल्केबर सबस्टेशनको ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित

ढल्केबर सबस्टेशनको ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित



काठमाडौँ । धनुषाको ढल्केबरमा रहेको सबस्टेशनको पावर ट्रान्सफर्मरमा समस्या आउँदा जनकपुर क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको छ । ढल्केबर सबस्टेशनमा रहेको १३२/३३ केभी, ६३ एमभीए क्षमताका दुई वटा पावर ट्रान्सफर्मरमध्ये अस्ति मङ्गलवार बेलुकादेखि एउटामा समस्या आएको छ ।

दुई वटा ट्रान्सफर्मरबाट झन्डै ९० एमभीए भार (लोड) आपूर्ति भइरहेकामा एउटामा समस्या आएपछि ३० एमभीए लोड काटिएको छ । यसले गर्दा सबस्टेशनबाट आपूर्ति भइरहेका धनुषाको जनकपुरधाम, यदुकुवा, धनुषाधाम, सखुवा, महोत्तरीको जलेश्वर, गौशाला, बर्दिबास, सिन्धुलीको भिमानलगायतका क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको हो ।

प्राधिकरण मधेश प्रादेशिक कार्यालयका निर्देशक मुनिन्द्र ठाकुरले ट्रान्सफर्मर बिग्रिएका कारण प्रभावित भएको विद्युत् आपूर्तिलाई नियमित गर्न भारतको सुरसण्डबाट ३३ केभी प्रसारण लाइनबाट विद्युत् ल्याउन लागिएको बताए ।

सुरसण्ड–जलेश्वर लाइन नचलेको धेरै भएकाले अहिले लाइनको मार्गधिकारमा पर्ने रुखबिरुवा काट्न थालिएको र भोलि शुक्रवारसम्म लाइन चालू गरी विद्युत् ल्याउने प्रयास भइरहेको ठाकुरको भनाइ छ । प्राधिकरणको ढल्केबर ग्रिड महाशाखाका प्रमुख विनोद लोहनीले ट्रान्सफर्मरमा देखिएको समस्या समाधानका लागि उत्पादक कम्पनीसँग कुरा भइरहेको बताए ।