दैनिक उपभोग्य वस्तु किन्न भारतीय बजारमा नेपाली उपभोक्ताको लर्काे

दैनिक उपभोग्य वस्तु किन्न भारतीय बजारमा नेपाली उपभोक्ताको लर्काे



बाँके । बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा दैनिक उपभोग्य वस्तु खरिदका लागि नेपाली उपभोक्ताको लर्को लागेको छ । तीजको बेलामा पनि नेपालगञ्ज बजारमा व्यापार नहुँदा भारतीय बजारमा भने नेपाली उपभोक्ताको लर्को लागेको हो ।

नेपाली बजारमा उपभोक्ताको चहलपहल कम छ । सीमापारि भारतीय बजार रुपैडिहामा किनमेल गर्ने नेपाली उपभोक्ताको चहलपहल बढेको छ । नेपालगञ्जका व्यापारी भने चिन्तित् छन् ।

भारतीय बजारका धेरैजसो उपभोक्ता नेपाली हुने भएकाले रुपैडिहामा नेपाली रुपैयाँ र मूल्यमा कारोबार हुने गरेको छ । व्यापारीहरूले पसलमा काम गर्ने कामदारसमेत नेपालीलाई राखेर भाषाको सहजता गरेका छन् ।

नेपाली उपभोक्ताको भरमा रुपैडिहा बजार चलेको स्थानीय व्यापारी सुजित वैश्यले बताए । चाडपर्व मात्र नभई अन्य समयमा पनि दैनिक उपभोग्य सामग्रीका लागि नेपाली उपभोक्ता भारतीय बजार रुपैडिहामै निर्भर रहने गरेका नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठको भनाइ छ ।

रुपैडिहा बजार नेपाली उपभोक्ताको भरमा टिकेको छ । दैनिक झन्डै एक करोड रुपैयाँको कारोबार नेपाली उपभोक्ताबाटै हुने गरेको छ । नेपालगञ्ज उद्योग वाणिज्य संघको हरेक चुनावका बेला नेपाली उपभोक्तालाई नेपालगञ्जमै रोक्ने नारा बन्ने गर्दछ तर चुनावपछि सेलाउँदै जाने गरेको छ ।