अध्यक्ष प्रचण्डसँग एमाले नेताहरूकाे भेट

अध्यक्ष प्रचण्डसँग एमाले नेताहरूकाे भेट



काठमाडौं । नेकपा (एमाले) का नेताहरूले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् ।

काठमाडौं उपत्यकाका नदी किनारमा मापदण्ड थप गरिएको विषयमा ध्यानाकर्षण गराउँदै हिँडेको एमाले काठमाडौं जिल्ला अध्यक्षसहितको टोलीले बिहीबार अध्यक्ष प्रचण्डलाई भेटेको हो । बिहीबार प्रचण्डलाई एमाले बागमती इन्चार्ज राजन भट्टराई, जिल्ला अध्यक्ष दीपक निरौला, काठमाडौं महानगरपालिकामा पूर्वप्रमुख विद्यासुन्दर शाक्य सहितको टोलीले भेटेको हो ।

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको बागमती नदी र यसका सहायक नदीमा थप २० मिटर मापदण्ड छोडेर खोलको बहाव क्षेत्र किटान गर्न परमादेश दिएपछि एमाले आन्दोलित छ ।

अध्यक्ष प्रचण्डले काठमाडौंको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्या सम्बन्धी पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने बताएक छन् ।

उनले यो निर्णय कार्यान्वयनमा समस्या देखिएकाले सरकार अदालतमा भ्याकेटमा जाँदा ठिकै हुने उल्लेख गर्दै यसबारे पार्टीको धारणा बैठकपछि नै तय हुने बताएका हुन् ।

भेटमा सहभागीहरुले नदी किनाराका जग्गा छाड्नुपर्ने अदालतको फैसलापछि काठमाडौंमा ठूलो समस्या सुरु भएको बताएका थिए । अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलो समेत दायाँबायाँ २०/२० मिटर छाड्नुपर्दा दशौं हजार घरपरिवार बिस्थापित हुने र पशुपति नाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने बताए ।

काठमाडौं महानगरपालिका प्रमुखले कार्यान्वयन गर्ने एकल निर्णय गरेपछि थप समस्या आएको भन्दै उनीहरुले यो फैसला कार्यान्वयन भएमा आर्थिक रूपमा अराजकता पैदा हुने बताए । आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर भ्याकेटमा जान सुझाव दिएको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेको जानकारी गराउँदै प्रतिनिधिमण्डलका सदस्यहरुले प्रमुख प्रतिपक्ष दलका नेता र पार्टी अध्यक्षको रुपमा प्रचण्डलाई भेट्न आएको बताएका थिए ।