मिथिलाञ्चलमा आज चौरचन पर्व मनाइँदै

मिथिलाञ्चलमा आज चौरचन पर्व मनाइँदै



धनुषा । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा चौरचन पर्व र तीज आज एकैदिन मनाइँदैछ । भदौ शुक्ल तृतीया तीथिको तीज व्रत र मिथिलामा भदौ शुक्ल चौथीको चन्द्रदर्शनको पर्व चौरचन आज एकैदिन परेको हो । यस वर्ष चौथी तिथि आज र भोलि छ ।

मिथिलाका ठूला पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ । महोत्तरीको बर्दिबास–२ का महेशकुमार झाले चौथी तिथिको चन्द्रोदय आजै हुने हुँदा यसपालि तीज व्रत र चौरचन एकैदिन परेको बताए ।

पर्वको दिन व्रतालु दिनभर उपवास बसेर बेलुकापख गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्छन् । गणेश र चन्द्रमालाई खिर, पुरी, दही र गच्छेअनुसारका अन्य मिष्टान्न परिकार तथा केरा र मौसमअनुसारका फलफूल देखाएर यो पर्व सम्पन्न गर्छन् । भाद्र शुक्ल चौथीको व्रत बसेर गरिने चन्द्रदर्शनले मित्र बढ्ने, सुख शान्ति प्राप्ति हुने लगायतका विश्वास छ ।

यस पर्वको माध्यमबाट मैथिल कला, संस्कृतिको उजागर हुने प्राज्ञ तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउछन । चौरचन पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको संस्कृतिविद् डा. राजेन्द्र बिमलले बताए ।