बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणबाट एक पथप्रदर्शक (गाइड)को मृत्यु भएको छ भने विदेशी पर्यटकसहित दुईजना घाइते भएका छन् ।
मधुवन नगरपालिका– १ स्थित वनमा वन्यजन्तु अवलोकन गर्ने क्रममा आज बिहान एकसिङे गैँडाले आक्रमण गरेको थियो ।
आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ निवासी अन्दाजी ३५ वर्षीय ‘नेचर गाइड’ मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीन थापाले जानकारी दिए ।
आक्रमणबाट अमेरिकी नागरिक अन्दाजी ५६ वर्षीय एमसी लेनडन शावन र सामुदायिक वनका चौकीदार ५८ वर्षीय खिन्चु चौधरी घाइते भएका छन् ।
गैँडाले गाइडको पेटमा र विदेशी पर्यटकको पुट्ठामा आक्रमण गरेको जनाइएको छ । घाइते पर्यटकको ठाकुरबाबा नगर अस्पताल भुरीगाउँमा उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको अवस्था मध्यम र चौकीदार चौधरीको अवस्था सामान्य छ ।
प्रतिक्रिया