हमासले हत्या गर्नुअघि रेकर्ड गरेको एक इजरायली नागरिकको भिडियो जारी

हमासले हत्या गर्नुअघि रेकर्ड गरेको एक इजरायली नागरिकको भिडियो जारी



काठमाडौं । गाजाको जमिनमुनि बन्धक बनाइएका ९७ जनालाई रिहाइ गर्न सम्झौताका लागि तयार हुन माग गर्दै इजरायलमा प्रदर्शन भइरहेका बेला हमासले हत्या गर्नुअघि रेकर्ड गरेको एक इजरायली नागरिकको भिडियो जारी गरेको छ ।

आफ्नो आधिकारिक टेलिग्राम च्यानलबाट हमासले हर्ष गोल्डबर्ग पोलिन नामका युवकको भिडियो प्रसारण गरेको हो । इजरायली अखबार जेरुसेलम पोस्टका अनुसार, हर्ष गत साता मृत फेला ६ नागरिकमध्ये एक हुन् । उनी ११ महिनादेखि गाजा क्षेत्रको जमिनमुनि सुरुङमा हमासको कब्जामा थिए ।

भिडियोमा हर्षले अमेरिकी प्रशासनसँग युद्ध समाप्तिका लागि हरसम्भव प्रयास गर्न आग्रह गरेका छन् ।

हमासको घोषणामा भनिएको छ, ‘अल कसम ब्रिगेडको घोषणाः आज राति ११ बजे, मारिएका हर्ष गोल्डबर्ग पोलिनले बोल्नेछन् ।’

आफ्ना नागरिकको सुरक्षामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको सरकार गम्भीर नरहेको र हमासको हातबाट बन्धक सबै मारिऊन् भनेर चाहेको आरोप हमासले लगाएको छ ।

गत साता ६ जना बन्धक मृत फेला परेसँगै इजरायलमा सरकारविरुद्धको असन्तुष्टि आन्दोलनमा परिणत भएको छ । आन्दोलित नागरिकले सत्ता जोगाउन नेतान्याहुले बन्धकहरूको ज्यान दाउमा लगाएको आरोप लगाउँदै आएका छन् । एजेन्सी