फेसबुकले हटाएको मेयर बालेनको स्टाटस फिर्ता

फेसबुकले हटाएको मेयर बालेनको स्टाटस फिर्ता



काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले एमालेकी प्रदेश सांसद रेखा शर्माको तस्वीरसहित फेसबुकमा राखेको स्टाटस रिकभर भएको छ । बालेनको सो तस्वीरसहितको स्टाटस नेगेटिभ रिपोर्टपछि फेसबुकले हटाइदिएको थियो । तर, फेसबुकले नै सो स्टाटस शुक्रबार रिकभर गरिदिएको हो ।

साहले आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध रोष प्रकट गरेका थिए । एमाले समर्थकहरूको रिपोर्टमा फेसबुकले सो स्टाटस हटाएको भन्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आधिकारिक फेसबुक पेज अनफलो अभियान नै चलाइएको थियो । त्यसपछि एमाले महासचिव शंकर पोखरेलदेखि समर्थकसम्मले ओलीको सो फेसबुक पेजको प्रचार गरेका थिए ।