जीबी राईलाई पक्राउ गर्न इन्टरपोलमा दोस्रोपटक पत्राचार

जीबी राईलाई पक्राउ गर्न इन्टरपोलमा दोस्रोपटक पत्राचार


ग्लोब नेपाल
189
Shares

काठमाडौं । नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल) लाई सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष जीबी राईलाई पक्राउ गरिदिन फेरि पत्राचार गरेको छ ।

काठमाडौंका नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) मार्फत इन्टरपोल महासचिवालयमा दोस्रो पटक पत्राचार गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिएका छन ।

जीबी मलेसियामा लोकेट भएपछि उनीविरुद्ध २०८० माघ १३ मा जारी गरिएको डिफ्युजन नोटिस ‘रेड नोटिस’मा परिवर्तन गरिएको छ । तर, रेड नोटिस जारी भए पनि मलेसियाले उनलाई पक्राउ गरेर पठाइदिन आनाकानी गरेपछि पुनः इन्टरपोलमा पत्राचार गरिएको अनुसन्धानमा संलग्न अधिकृतहरूले जानकारी दिएका छन ।

नेपाल प्रहरीका एकजना उच्च अधिकृतले भने, ‘नेपाल र मलेसियाको बिचमा भएका सन्धी–सम्झौताहरुसहित आवश्यक कागजातसहित पुनः पत्राचार गरिएको छ ।’ रेड नोटिस जारी भएसँगै इन्टरपोलले पक्राउ गरेर उनलाई डिपोर्ट गर्न सक्छ । तर, मलेसिया सरकारले उनलाई पक्राउ गर्न आनाकानी गरेको छ ।

जीबीको समूहले पोखरास्थित सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय कास्कीले त्यसबारे अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अहिले अदालतमा विचाराधीन छ । सूर्यदर्शनबाट रास्वपाका सभापति रवि लामिछानेले पनि बिनाधितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ ।

बुटवलस्थित सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगन्जको सानो पाइला सहकारीबाट पनि आरोपीहरूले बचतकर्ताको निक्षेप हिनामिना गरेको भेटिएको छ । जीबीको समूहले सहकारीको रकम अनधिकृत रूपमा गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ ।