दिल्लीबाट रौतहटका चार बालकको सकुसल उद्धार

दिल्लीबाट रौतहटका चार बालकको सकुसल उद्धार



रौतहट । रौतहट जिल्लाको मध्यभाग गरूडा नगरपालिकाका ४ जना बालकलाई भारतको राजधानी दिल्लीबाट सकुसल उद्वार गरिएको छ ।

गरुडा नगरपालिका जयनगर गाउँका संजीव महतो, भरत किशोर ठाकुर, शेख निराली, र सुवोध महतोलाई अभीयन्ता सरोज रायले भारतीय प्रहरीको सहयोगमा दिल्लीबाट उद्वार गरेका हुन् । जयनगर नजीककैको एक गाँउको एकजना मानिसले ती चारै जनालाई काममा लगाउने प्रलोभन देखाई एक महिना अघि दिल्ली लागेका थिए ।

दिल्लीमा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । ती बालकहरु १३ देखि १६ वर्ष उमेर समुहका रहेका छन् । बाल तस्करीको मुद्दामा बालकलाई लैजाने व्यक्तिलाई प्रहरीले हिरासतमा राखेको छ । हिजो शनिवार दुई बालकलाई नेपाल फिर्ता ल्याईएको तथा, वाकि दुई बालकलाई सोमवार फिर्ता ल्याउने अभियन्ता रायले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

भारतमा १८ वर्ष मुनिका बालबालिकालाई श्रम गराउनु गैरकानुनी छ र त्यहाँ बालश्रमको कानुन कडाइका साथ पालना गरिन्छ । तर आर्थिक विपन्नता, अशिक्षाको कारण बिभिन्न रोजगारीको नाउँमा रौतहट लगायतका जिल्लाका हजारौं नेपाली बालबालिका  भारतको राजधानी दिल्ली, मुम्बई लगायतका सहरहरूमा बालश्रम गरिरहेका छन् ।