यसपालि सभापतिमै चुनाव लड्नुपर्ला : शशांक कोइराला

यसपालि सभापतिमै चुनाव लड्नुपर्ला : शशांक कोइराला



काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन् ।

सोमबार काठमाडौंमा विश्वेश्वरप्रसाद कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सांसद कोइरालाले यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताए । उनले बिपीको छोरो हुने बित्तिकै आफूलाई हरेक कुरामा सबैभन्दा अगाडि सार्ने काम गरेको पनि बताए ।

उनले आफूले सहजै निर्वाचन जित्ने गरेको र अहिलेसम्म पाँच पटक जितिसकेको बताए । उनले ठूलो मान्छे नभइ असल मान्छे हुनुपर्नेमा बिपीले जोड दिनुभएको स्मरण गर्दै असल मान्छे हुन पनि कठिन रहेको बताए ।

‘बिपीको छोरो हुने बित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले । कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन । पाँच चोटी त चुनाव जितेँ । त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्ला जस्तो लागेको छ । अब त्यो त भविष्यले भन्छ । मैले बिपीको बारेमा भन्दा उहाँ भन्नुहुन्थ्यो, ठूलो मान्छे होइन, असल मान्छे बन्नुपर्छ ।,’ सांसद कोइरालाले भने, ‘त्यो पनि एकदम गाह्रो रहेछ फेरि । भन्दाखेरी कति सजिलो छ । असल बन्नु भनेको अत्यन्त गाह्रो हो । सबैको आदर, सम्मान गर्नुपर्छ । त्यो मबाट हुनै सक्दैन जस्तो लाग्छ मलाई । किनभने अरुहरुमा त्रुटि देख्छु । त्यसलाई कोट्यायो भने अपमान हुन्छ, त्यो गर्नु हुँदैन । त्यसैले गाह्रो छ ।’