काठमाडौं । रुसी सेना युक्रेनको अन्त्यन्तै महत्त्वपूर्ण शहर पोक्रोभस्क नजिकै पुगेका छन् । गएराति रुसी सेनाले पोक्रोभस्कबाट नाै किलोमिटर दूरीमा रहेको नोभोह्राेडिभ्का शहर कब्जा गरेको बीबीसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पूर्वी युक्रेनको निकै महत्त्वपूर्ण शहर पोक्रोभस्क कब्जा गर्नका लागि रुसले एक महिनादेखि सङ्घर्ष गर्दै आएको छ । युक्रेनी सेनाले एक रिपोर्टमा पोक्रोभस्क क्षेत्रमा स्थिति तनावपूर्ण रहेको र नोभोह्राेडिभ्कासहित धेरै शहरको वरिपरि ठूलाे लडाइँ भएको बताएको छ । रुसले शहर कब्जा गर्ने सङ्केत पाएपछि युक्रेनले पोक्रोभस्कबाट आफ्ना नागरिकको उद्धार गरिरहेको छ ।
दुई महिनाअघि ४८ हजार जना मानिस बस्ने शहर अहिले सुनसान हुन थालेको छ । बैंक, पसल, सुपरमार्केट, सरकारी कार्यालय सबै बन्द छन् । पोक्रोभस्क शहर युक्रेनी सेनाका लागि बन्दोबस्तीको भण्डार, मुख्य राजमार्ग र रेलमार्गसहितको महत्त्वपूर्ण शहर हो । यदि पोक्रोभस्क शहर रुसले कब्जा गरेमा युक्रेनले पूर्वी क्षेत्रमा एउटा महत्त्वपूर्ण यातायात केन्द्र गुमाउनेछ र रुस थप बलियो अवस्थामा पुग्नेछ । यो शहर गुमाएमा युक्रेनले आफ्नो पूर्वी भाग डोनेत्स्क रुसलाई सुम्पिएसरह हुने खबरमा उल्लेख छ । रुसले डोनेत्स्क क्षेत्र कब्जालाई प्राथमिकतामा राखेको छ ।
सन् २०२२ को फेब्रुअरीमा आक्रमण थालेको रुसले युक्रेनको पाँच भागको एक भाग कब्जा गरिसकेको छ । अघिल्लो महिना युक्रेनले आश्चर्यजनक रूपमा रुसको कुर्स्क क्षेत्रमा हमला गरेर केही भाग कब्जा गरेको थियो । युक्रेनले रुसी भाग कब्जा गरेको खुशी मनाइरहँदा रुसले भने चलाखीपूर्वक पोक्रोभस्क शहर कब्जा गर्न लागेको हो ।
प्रतिक्रिया