काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।
महासंघको निर्वाचन दुई पटक तोकिए पनि हुन नसकेको अवस्थामा अध्यक्ष पोखरेलले पुनः कार्यतालिका ल्याउन नसकेको, सदस्यता विवाद मिलाउन नसकेको अवस्थामा राजीनामा दिएका हुन् ।
पोखरेलले महासंघको अहिलेको अवस्थाप्रति नैतिक जिम्मेवारी लिदै राजीनामा दिएको उल्लेख गरेका छन् ।
‘बाह्य सरोकारवाला पक्षहरूले समेत सदस्यतासूची आफूलाई देखाएर मात्र अघिबढ्नु पर्ने अपेक्षा अझै पनि कायम राखिराख्दा मन खिन्न हुन गएको छ । यस्तो अवस्थाबाट ममा निर्मित मनोविज्ञान बोकेर यो निर्वाचनलाई सम्पन्न गर्न म समर्थ छैन’, उनको राजीनामा पत्रमा उल्लेख छ ।
उनले अहिलेको सबै अवस्था आउनुमा आफ्नो कमजोरीलाई स्वीकार गर्दै सबै कुराको नैतिक जिम्मेवारी लिने समेत बताएका छन् ।
‘मेरो मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्था समेत सहज रूपमा काम गर्न सक्ने अवस्थामा छैन । तसर्थ विधानले प्रदान गरेको अध्यक्षको सम्पूर्ण (आर्थिक समेत) जिम्मेवारी बहन गर्ने गरी कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी दिँदै आजैका मितिदेखि लागुहुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको छु’, उनको राजीनामापत्रमा उल्लेख छ ।
प्रतिक्रिया