पत्रकार महासंघ अध्यक्ष विपुलले किन दिए राजीनामा, तेस्रो पटक भाँडिदैछ अधिवेशन (पत्रसहित)

पत्रकार महासंघ अध्यक्ष विपुलले किन दिए राजीनामा, तेस्रो पटक भाँडिदैछ अधिवेशन (पत्रसहित)



काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । विधानतः अध्यक्षले वरिष्ठ उपाध्यक्षलाई राजीनामा बुझाउनुपर्छ । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् । राजीनामा पत्र दर्ता गराएर वरिष्ठ उपाध्यक्षको टेबलमा पुर्‍याइएको हो ।

पदाधिकारी र सदस्यहरुले असहयोग गरेको हुनाले राजीनामा दिएको अध्यक्ष पोखरेलले प्याराग्राफ नछुटाइ लेखिएको राजीनामापत्रमा उल्लेख छ । उनले अधिवेशन गर्न नसकेको नैतिक जिम्मेवारी लिने, मानसिक तनाव र शारीरिक स्वास्थ्य अवस्थासमेत सहज रुपमा काम गर्न नसक्ने अवस्थामा पुगेकाले आजैको मितिदेखि लागू हुने गरी राजीनामा बुझाएको अध्यक्ष पोखरेलले पत्रमा उल्लेख गरेका छन् ।

अध्यक्ष विपुलले राजीनामा बुझाउन एक दिन अघि केन्द्रीय समितिको बैठक बोलाइएको थियो । बैठकमा ठूलै चर्काचर्की भएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । बैठकमा धेरैजसो सदस्य सहभागी थिएनन्, कसैले बैठकबारे जानकारी पाएनन् भने जानकारी पाएका केही सदस्यले सदस्यताको फाइनल भएको कपी मागेका थिए । कपी उपलब्ध नभएपछि बैठक बहिष्कार गरेका थिए ।

सदस्यता संख्यालाई एजेन्डा बनाएर महासंघको अधिवेशन तेस्रो पटक भाँडिदैछ । पहिलो अधिवेशन बैशाख २१ र २२ गते गर्ने मिति तय भएको थियो । तर उक्त मितिमा अधिवेशन नहुने देखिएपछि मिति नतोकी असारमा गर्ने भनियो । त्यसपछि असोज ५ गतेका लागि अधिवेशनको मिति तोकिएको थियो । ९ हजार ५ सय २२ सदस्यता संख्या फाइनल भनिएको छ, तर सार्वजनिक गरिएको छैन । यसलाई आधार बनाएर नयाँ कोणबाट चुनाव जित्ने रणनीति बनिरहेको जानकारहरु बताउँछन् ।

मुख्यतः चारवटा राजनीतिक दलमा आस्था राख्ने सञ्चारकर्मीहरु महासंघको नेतृत्वमा छन् । कांग्रेसमा आस्था राख्ने प्रेस युनियन, एमालेमा आस्था राख्ने प्रेस चौतारी, माओवादीमा आस्था राख्ने प्रेस सेन्टर र नेकपा एकीकृत समाजवादीमा आस्था राख्ने समाजवादी प्रेस संगठनका प्रतिनिधिले महासंघ भरिएको छ ।

पछिल्लो राजनीतिक समीकरणसँगै महासंघको निर्वाचनमा पनि समीकरण बनेको छ । प्रेस युनियन र प्रेस चौधरी एक ठाउँमा छ भने प्रेस सेन्टर र समाजवादी प्रेस संगठन एक ठाउँमा छ । एक्लाएक्लै निर्वाचन लड्ने र अन्तरघात नहुने हो भने प्रेस युनियनको टिम सहजै निर्वाचित हुन्छ ।

तर यहाँ सेन्टर र संगठनले युनियनको एउटा तप्कालाई थुत्ने प्रयास गरिरहेको बुझिन्छ । सम्भवतः यो रणनीति सफल भयो भने महासंघको अधिवेशन असोज महिनाभित्रै हुने जानकारहरु बताउँछन् । यस अघि महासंघको अधिवेशन असोज ५ गते हुने भनेर तोकिएको थियो । यो मितिमा नहुने त पक्कापक्की नै छ, यद्यपि प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको चलखेल सफल नभएमा अधिवेशन लामो समय नहुने संकेत देखिएको छ ।