काठमाडौं । पेरिस पारा ओलम्पिक २०२४ समापन भएको छ । गएको अगस्ट २८ देखि शुरू भएको प्रतियोगिता भव्य समारोहका बीच गएराति समापन भएको हो ।
प्रतियोगितामा चीन शीर्ष स्थानमा रहेको छ । चीनले ९४ स्वर्ण, ७६ रजत र ५० कांस्यसहित दुई सय २० वटा पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको बेलायतले ४९ स्वर्ण, ४४ रजत र ३१ कांस्यसहित एक सय २४ वटा पदक जितेको छ । यसैगरी ३६ स्वर्ण, ४२ रजत र २७ कांस्यसहित एक सय पाँच वटा पदक जित्दै अमेरिका तेस्रो स्थानमा छ ।
यस्तै नेदरल्यान्ड्स २७ स्वर्णसहित चौथो, ब्राजिल २५ स्वर्णसहित पाँचौं, इटाली २४ स्वर्णसहित छैटौं, युक्रेन २२ स्वर्णसहित सातौं, फ्रान्स १९ स्वर्णसहित आठौं, अस्ट्रेलिया १८ स्वर्णसहित नवौं र जापान १० स्वर्णसहित दशौं स्थानमा रहेका छन् ।
पेरिस पारा ओलम्पिकमा नेपालकी पलेशा गोवर्धन ऐतिहासिक पदक जित्न सफल भइन् । पलेशाले तेक्वान्दोको के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपालको यो पहिलो पदक हो ।
प्रतिक्रिया