भेरी अस्पतालमा नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि

भेरी अस्पतालमा नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि



बाँके । बाँकेको नेपालगञ्जमा रहेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसका बिरामी फेला परेका छन् । नरैनापुर–१ मतहनियाकी नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिइन् ।

बिरामीको एक हप्तासम्म अस्पतालको ‘आईसीयू’ मा उपचार भएको र अहिले अवस्था सामान्य भएको उनले बताइन् । यसअघि ती बालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाएको वा नलगाएकोबारे भने थाहा हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताए । उनले जापानिज इन्सेफ्लाइटिसबाट जोगिन जन्मेको १२ देखि २३ महिनाभित्र खोप लगाइसक्नुपर्ने प्रावधान रहेको उल्लेख गरे ।

चिकित्सकका अनुसार सुँगुर र चरामा जापनिज इन्सेफ्लाइटिसका भाइरस हुन्छन् । ती जनावरलाई टोकेको क्युलेक्स नाम गरेको लामखुट्टेले मानिसलाई टोकेपछि सङ्क्रमण गराउँछ । यो भाइरसले मुख्यतया मस्तिष्कलाई असर पार्ने बताइएको छ । जापनिज इन्सेफ्लाइटिस भइसकेपछि ज्वरो आउने, टाउको दुख्ने, जिउ काम्ने र बान्ता लागेजस्तो लक्षण देखापर्ने डा. खड्काले बताए ।