सुरक्षाकर्मी र पूर्वमुख्यमन्त्री कार्कीका समर्थकबिच झडप

सुरक्षाकर्मी र पूर्वमुख्यमन्त्री कार्कीका समर्थकबिच झडप



विराटनगर । निषेधित क्षेत्रमा अनशन बसेको भन्दै प्रहरीले कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीको अनशन स्थलमा हस्तक्षेप गरेको छ ।

कार्कीले प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनशनमा बसेका थिए । उनको समर्थनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति छ । उनीहरूको उपस्थितिकैबिच प्रहरीले कार्कीलाई अनशन स्थलबाट हटाउन खाेज्दा सुरक्षाकर्मी र कार्कीका समर्थकबिच झडप भएको छ ।

स्थानीय प्रशासनले हस्तक्षेप गरेपछि अहिले दुई पक्षबिच दोहोरो झडप भइरहेको छ । झडपमा परेर केही अनशनकारी र सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ ।

अनशन स्थलबाट उठाउने प्रहरीको प्रयास भने अझै सफल भएको छैन । कार्की समर्थकले उनलाई अनशनस्थलमै सुरक्षा घेरा हालेर बसेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार ३ बजेदेखि कोशी प्रदेश सभाको गेट अगाडिको उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।