अमेरिका। अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिस पहिलो पटक र रिपब्लिकन पार्टीका अनुभवी उम्मेदवार डोनाल्ड ट्रम्प सातौं पटक राष्ट्रपति निर्वाचनको टेलिभिजन बहसमा आमनेसामने भए । यो बहसलाई नोभेम्बर ५ मा हुने निर्वाचन परिणामसँग जोडेर विश्लेषण गर्न थालिएको छ ।
यसअघि ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनसँग टेलिभिजन बहस गरेका थिए । बहसमा कमजोर प्रदर्शनपछि बाइडेन माथि उम्मेदवारी त्याग्न चौतर्फी दबाब पर्यो । अन्ततः उम्मेदवारी त्यागेपछि डेमोक्रेटिक पार्टीको महाधिवेशनले कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारका रुपमा अगाडि सारेको हो ।
अमेरिकी संविधान घोषणा भएको स्थानमा करिब ९० मिनेट चलेको बहसमा कमला ह्यारिस संयमित र उत्साहित देखिन्थिन् भने ट्रम्प आफ्नै शैलीमा ‘आक्रमक’ र ‘रिसाह’ देखिएका थिए । विदेश नीति, आर्थिक मन्दी, आप्रवासन र गर्भपतनलगायतका विषयमा बहस केन्द्रित थियो ।
बहसमा ट्रम्प रक्षात्मक र कमला आक्रमक देखिएको समीक्षकहरुले विश्लेषण गरेका छन् । कमला आफ्ना एजेन्डामा पूर्ण आत्मविश्वासका साथ बहसमार्फत् प्रस्तुत भएकी थिइन् भने ट्रम्पले आफ्नो पुरानो शैली छोडेका थिएनन् ।
गर्भपतनको विषय अमेरिकाको आगामी निर्वाचनमा एउटा प्रमुख घरेलु मुद्दा बनेको छ । यस विषयमा कमलाले महिलाको शरीरमाथिको अधिकार महिला आफै हुने जिकिर गर्दै आइरहेकी छन् भने ट्रम्प अझै पनि यो मुद्दामा प्रष्ट देखिएका छैनन् ।
बहसमा दोस्रो घरेलु मुद्दा आप्रवास र आर्थिक मन्दी बनेको थियो । कमलाले मध्यवर्गलाई कर सहुलियतको पक्षमा बहस गरेकी थिइन् भने ट्रम्पले करको दायरा फराकिलो बनाउनुपर्ने बताएका थिए । आप्रवासनसम्बन्धी विषयमा कमला पार्टी नीतिअन्तर्गत नै प्रस्तुत भइन् । डेमोक्रेटिक पार्टीले गैरकानुन आप्रवासीलाई कानुन बनाएर बसोबासको अधिकार दिनुपर्छ भन्ने नीतिमा स्पष्ट छ ।
अमेरिकामा अपराध बढाउने आप्रवासी हुन् भन्दै ट्रम्प जङ्गिएका थिए । आफू राष्ट्रपति निर्वाचित भए आप्रवासीसम्बन्धी कडा कानुन ल्याएर आप्रवासी नियन्त्रण गर्ने बताए । रंगविभेद विरोधी कडा कानुन हुँदाहुँदै जातीय घृणा फैलाउन ट्रम्पको अभिव्यक्तिको कमलाले प्रतिवाद गरेकी थिइन् ।
बहसपछि प्रारम्भिक प्रतिक्रियामा समीक्षकहरुले कमलाले आफूलाई अब्बल साबित गर्ने प्रयास गरेको टिप्पणी गरेका थिए । बहसमार्फत् कमलाले डेमोक्रेटहरुको मनोबल उच्च बनाए निर्वाचन परिणाम उनको पक्षमा जान सजिलो हुने समीक्षकहरुको प्रतिक्रिया थियो । यो बहसपछि कमलाको लोकप्रियता अझ चुलिने र अमेरिकी राष्ट्रपति निर्वाचनमा नयाँ इतिहास बन्ने अड्कल गरिएको छ ।
प्रतिक्रिया