काठमाडौं । नेपाली कांग्रेसले उत्कृष्ट कार्य गर्ने २१ वटा स्थानीय तहलाई सम्मान गरेको छ । बिहीबार सानेपास्थित केन्द्रीय कार्यालयमा पार्टी सभापति शेरबहादुर देउवाले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिले राम्रो कार्य गरे भन्दै सम्मान गरेका हुन् ।
कार्यक्रममा देउवाले एमाले र कांग्रेस साथी पार्टी भएको बताएका छन् । उनले भने, ‘एमाले र माओवादी एक ठाउँ हुँदा पार्टीका साथीहरू चिन्तित थिए । यी सबै कुरालाई हेरेर एमालेसँग सहकार्य भएको हो । दुई वर्ष सरकार ओलीले चलाएपछि कांग्रेसलाई छोडिदिनुहुन्छ ।’
देउवाले दुई पार्टी मिलेपछि अरु सिधिन्छन् भन्ने चिन्ता नलिनसमेत आग्रह गरे । उनले भने, ‘दुई पार्टी मिलेपछि अरू सिधिन्छन् भन्छन् । हाम्रो उद्देश्य यस्तो होइन । एमालेको पनि यस्तो सोच देख्दिनँ ।’
सभापति देउवाले सबैलाई मिलाएर अघि बढाउन आफूहरूले चाहेको पनि स्पष्ट पारे । उनले पछिल्लो समय पार्टी परित्याग गरेकाहरू पनि पार्टीमा पुनः फर्किने क्रम जारी रहेको भन्दै अझ बलियो पार्टी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
उनले कांग्रेसलाई कमजोर बनाउनेहरू नेपालमा रहेको भन्दै सबैलाई एक गरेर बलियो पार्टी बनाउनुपर्ने बताए । उनले आफूले अब सबै कुराबाट संन्यास लिने बेला आइसकेको भन्दै पार्टी, देशको चिन्ता अब नयाँ बन्ने नेताहरूले लिनुपर्ने बताए ।
नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागका अनुसार धादिङको नेत्रावती दबजोङ गाउँपालिका अध्यक्ष मेघनाथ रिजाल, नुवाकोटको म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, सर्लाहीको विष्णु गाउँपालिका अध्यक्ष जवाहरलाल यादव, काठमाडौंको नाजार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत, सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, काभ्रेको पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीलाई सम्मान गरिएको छ ।
साथै स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, पर्वतको जलजला गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्य, गुल्मीको मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवर, धादिङको ज्वालामुखी गाउँपालिका अध्यक्ष यमना दनै, धादिङकै नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना, रूपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाँण, चितवनको रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटालाई पनि सम्मान गरेको कांग्रेसले जनाएको छ ।
विभागले सिन्धुलीको ध्याङलेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलन, दैलेखको महाबु गाउँपालिका कार्यवाहक अध्यक्ष मञ्जुकुमारी शर्मा, हुम्लाको सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाय, इलाम नगरपालिकाका मेयर केदार थापा, चितवनको खैरहनी नगरपालिका मेयर शशीकुमार खनियाँ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर आइतमान तामाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर विमला राईलाई सम्मान गरिएको हो ।
प्रतिक्रिया