बेनी–मालढुंगा सडकमा पर्ने घरटहराको क्षतिपूर्ति वितरण गर्न शुरू

बेनी–मालढुंगा सडकमा पर्ने घरटहराको क्षतिपूर्ति वितरण गर्न शुरू



म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकमा पर्ने घरटहराको क्षतिपूर्ति रकम वितरण गर्न शुरू भएको छ । १३ किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा भत्काउन थालिएको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णुप्रसाद चापागाईँले ११ मिटर फराकिलो सडक बनाउन ६३ वटा घरटहराका धनीलाई क्षतिपूर्ति वितरण शुरू भएको जानकारी दिए । जलजला गाउँपालिकाको ८, ७ र ४ नम्बर वडाको फर्से, लस्ती, केराबारी, मिलनचोक, मोहनचोक, लामाखेत क्षेत्रको घरटहरा भत्काउन लागिएको हो । क्षतिपूर्तिबापत सरकारको कोषबाट ७९ लाख ७३ हजार रुपैयाँ खर्च हुने उहाँले जानकारी दिए ।

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ६२ प्रतिशत छ । कालोपत्र गर्न ५२ करोड ८६ लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।