काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ । नेकपा माओवादी केन्द्रले एमाले सचिव योगेश भट्टराईले संसदमा बोलेको ‘माओवादी हिंसा’ शब्द रेकर्डबाट नहटाएसम्म संसदको अवरोध कायम राख्ने अडान राखेपछि आइतबार बैठक स्थगित गरिएको हो ।
सभामुख देवराज घिमिरेले पटकपटक दलका प्रमुख सचेतकहरूसँग छलफल गरी संसद खुलाउने प्रयास गरे पनि त्यो सफल हुन सकेन । घिमिरेले आइतबार दुईपटक दलका सचेतकहरूसँग छलफल गरे पनि ती छलफलमा सहमति जुटेन ।
२६ भदौमा सभामुख घिमिरेले भट्टराईले बोलेको सो ‘माओवादी हिंसा’ शब्द असंसदीय नभएकाले रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएपछि माओवादी केन्द्रले बैठक अवरोध गरेको थियो । त्यसपछि बसेको माओवादी संसदीय दलको बैठकले पनि सो शब्द नहटाएसम्म संसद अवरोध गर्ने निर्णय गरेको थियो ।
आइतबार पनि माओवादी केन्द्रले संसद अवरोध जारी राख्ने निर्णय गरेपछि सभामुख घिमिरेले सोमबार दिउँसो एक बजे बस्ने गरी संसद बैठक स्थगित गरेका हुन् ।
सभामुखले एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘माओवादी हिंसा’ शब्द असंसदीय नरहेको निर्णय सुनाउनु एकपक्षीय भएको भन्दै माओवादीले असहमती जनाएको हो । एमालेका सचिव योगश भट्टराईले गएको भदौ १२ गतेको प्रतिनिधि सभामा बोल्दा माओवादीको सशस्त्र युद्धलाई हिँसा भनेपछि विवाद शुरु भएको थियो ।
प्रतिक्रिया