विश्वशक्ति राष्ट्रहरू नेपाललाई रणनीतिक अड्डा बनाएर युद्धको तयारीमा छन् : प्रचण्ड

विश्वशक्ति राष्ट्रहरू नेपाललाई रणनीतिक अड्डा बनाएर युद्धको तयारीमा छन् : प्रचण्ड



झापा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वशक्ति राष्ट्रहरू नेपाललाई रणनीतिक अड्डा बनाएर युद्धको तयारी गर्ने प्रक्रियामा लागेको बताएका छन् ।

झापा बिर्तामोडमा आयोजित पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय परिस्थितिबारे मन्तव्य दिँदै विश्व अहिले शीतयुद्धको अवस्थामा रहेको बताए ।

‘विश्वमा नयाँ शीतयुद्ध चलिसकेको देखिन्छ । त्यो कुनै न कुनै बेला विस्फोट हुने अवस्था छ । तर, त्यो शीतयुद्धको केन्द्र नेपाल हुने हो कि भन्ने ठुलो सम्भावना छ । यो गम्भीरताको साथ मैले तपाईँलाई भनेको छु,’ प्रचण्डले भने, ‘भूराजनीतिक अवस्थितिको कारणले विश्व शक्तिहरुबाट नेपालमा टेकेर चीनमा घेरा हाल्ने वा नेपाललाई रणनीतिक अड्डा बनाएर नयाँ युद्धको तयारी गर्ने प्रक्रिया चलिरहेको छ ।’

‘विश्वशक्ति राष्ट्रहरूले नेपालमा बढीभन्दा बढी सैनिक चलखेल गराउने प्रयासमा छन्,’ उनले भने । प्रचण्डले अहिले विश्व युद्ध भए पनि भारत र रुसको एउटा एलायन्स हुने परिदृश्य देखिँदै गएको विश्लेषण गरे । ‘श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशको प्रभाव भारतमा पनि देखिँदै छ । किनकि नरेन्द्र मोदीको नारा नै थियो अबकी बार ४ सौ पार, तर त्यस्तो भएन,’ प्रचण्डले थप व्याख्या गर्दै भने, ‘त्यो हुनुमा पश्चिमी मिडिया मोदीका विरुद्ध खनिएका थिए । त्यसको परिणाम असर परेको हो भन्ने देखिँदै छ ।’

अध्यक्ष प्रचण्डले नेपालमा त्यसखालको परिदृश्य आए नेपाल राष्ट्र बचाउने, राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने, नेपाल र नेपालीलाई एकीकृत गर्ने विचार, शक्ति र नेता माओवादीमा मात्रै रहेको दाबी गरे । ‘हाम्रो पार्टीको रक्षाको निम्ति मात्रै होइन यो देशमा लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको संविधान र देशको अस्तित्व रक्षाको लागि पनि अझ बढी माओवादीहरू एकताबद्ध र सङ्गठित हुनुपर्दछ,’ उनले भने ।

अब नेपालको राजनीति यही तरिकाले नचल्ने बताउँदै उनले एकाथरि सामन्तीतन्त्र, निरङ्कुशतन्त्र तिर लान खोजिरहेको, एकथरि ०४७ सालतिर लानेहरू पनि रहेको बताए । केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले यो संविधान च्यातियोस् भन्ने चाहना राखेकाे पनि उनले दाबी गरे ।