गिरिबन्धु र भुटानी प्रकरणमा ओली र देउवा संलग्न छन्ः प्रचण्ड

गिरिबन्धु र भुटानी प्रकरणमा ओली र देउवा संलग्न छन्ः प्रचण्ड


ग्लोब नेपाल
1.4k
Shares

झापा । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गिरिबन्धु टी–स्टेट प्रकरणमा एमाले अध्यक्ष केपी शर्मा ओली संलग्न रहेको आरोप माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका छन् । आइतबार झापाको विर्तामोडमा आयोजित पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘दुवै प्रकरणमा बालकोट (एमाले अध्यक्ष केपी ओली) र बुढानीलकण्ठ (कांग्रेस सभापति शेरबहादुर देउवा) तिर अनुसन्धानको सुई सोझिएपछि कांग्रेस र एमाले मिलेर सरकार बनाएका हुन् ।’

‘नक्कली भुटानी शरणार्थीसँग सम्बन्धित अभियुक्तहरू जो फरार थिए ती फरार अभियुक्तहरू गिरफ्तार गरिएपछि र गिरीबन्धु टी–इस्टेटका बारेमा अदालत समेतको फैसलाका आधारमा अगाडि बढ्ने जमर्को गर्दागर्दै’, उनले भने, ‘खतराको घण्टी, मैले भनेको छु । सुई चाहिं अब बुढानीलकण्ठ र बालकोटतिर सीधै सोझियो ।’

संसदीय लोकतन्त्रमा संसदका पहिलो र दोश्रो ठूलो दल मिलेर सरकार बनाउने घटना संसारमै नरहेको प्रचण्डले दाबी गरे ।

कांग्रेस र एमालेबीच १७ असारको मध्यरातमा सत्ता गठबन्धन निर्माणसम्बन्धी ७ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो । सोही सहमतिले एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएको हो । प्रचण्डले सरकारबाट बाहिरिएपछि लगातार वर्तमान सरकारलाई भ्रष्ट र माफियाहरुको सरकारको संज्ञा दिँदै आएका छन् ।