सहकारी छानबिन समितिका सबै सदस्यले गरे प्रतिवेदनमा हस्ताक्षर

सहकारी छानबिन समितिका सबै सदस्यले गरे प्रतिवेदनमा हस्ताक्षर



काठमाडौं । सहकारी ठगी छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनमा सबै सदस्यले हस्ताक्षर गरेका छन् । भाषा शुद्धीकरणसहितका विषयका कारण ढिला गरी प्रतिवेदनमा हस्ताक्षर भएको समितिका सभापति सूर्य थापाले बताए ।

प्रतिवेदन प्रतिनिधि सभामा सोमबार नै पेस गर्ने तयारी छ ।

सभापति थापाका अनुसार समितिले तीन महिनामा ६६ वटा बैठक गरेको छ । सहकारीका बचत फिर्ता नपाएका पक्ष, सहकारी रकम अपचलनमा संलग्नको आरोपितहरू, सरोकारवालाहरू, सहकारी विभागलगायत विज्ञहरूसँग पनि समितिले छलफल गरेको थियो ।

प्रतिनिधि सभाको जेठ १५ गते बसेको बैठकले उक्त समिति गठन गरेको हो । समितिलाई तीन महिनाको समयावधि दिएकामा १५ दिन थप गरिएको थियो ।

समितिमा नेपाली कांग्रेसबाट दिलेन्द्रप्रसाद बडू (बद्रीप्रसाद पाण्डे रहेकामा उनी मन्त्री बनेपछि बडूलाई बनाइएको), ईश्वरी न्यौपाने, नेकपा (एमाले) बाट सावित्रा भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल (राजन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिशिर खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य छन् ।