कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने



काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते बुधबार विश्वासको मत लिने भएका छन् ।

नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेससँगको नयाँ गठबन्धन सरकार अघि बढाउन पुनः विश्वासको मत लिने तयारी भएको हो ।

कोशी प्रदेशमा गत साउन ११ गते माओवादी सत्ताबाट बाहिरिएको थियो । त्यसको एक महिनापछि भदौ १४ गते माओवादीले सरकारलाई दिएको समर्थनसमेत फिर्ता गरेको थियो ।

संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । ९३ जना प्रदेश सभा सदस्य रहेको कोशी प्रदेशमा नेकपा एमालेका ४० र नेपाली कांग्रेसका २९ सांसद छन् ।

त्यसैगरि, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादीबाट १ जना प्रदेश सभा सदस्य रहेका छन् । सत्तामा रहेको एमाले र कांग्रेसबाट ६९ जना सदस्य रहेको हुँदा मुख्यमन्त्री कार्कीले सहज रुपमा विश्वासको मत हासिल गर्ने देखिन्छ ।