नेपाल र क्यानडाबीचको खेल एक घण्टा ढिला शुरू हुने

नेपाल र क्यानडाबीचको खेल एक घण्टा ढिला शुरू हुने



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलाअन्तर्गत नेपाल र क्यानडाबीचको खेल पूर्वनिर्धारित समयभन्दा एक घण्टा ढिला शुरू हुने भएको छ ।

क्यानडाको किङ्ग सिटीमा हुने खेल राति पौने ९ बजे शुरू हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । यसअघि यो खेल राति पौने ८ बजे शुरू हुने तय भएको थियो ।

क्यानडामा हुने त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा घरेलु टोली क्यानडा, नेपाल र ओमान छन् । आजदेखि शुरू हुन लागेको शृङ्खलामा नेपालले दोस्रो खेलमा पर्सि असोज २ गते ओमानसँग, तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।

एकदिवसीय शृङ्खलापछि यही तीन वटा टोलीबीच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि हुनेछ ।

नेपाली टोली : रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्लेल, आसिफ शेख, भीम सार्की, अनिल साह, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललितनारायण राजवंशी, सन्दीप लामिछाने र देव खनाल (वैकल्पिक खेलाडी) ।