रविले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर

रविले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर

सहकारी ठगि गरेको आरोपबाट मुक्त भएको रविकाे दाबी



काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले किर्ते कागजको आधारमा कम्पनीको शेयर गरिदविक्री गरेको निष्कर्ष निकालेको छ ।

समितिले सोमबार संसद्मा प्रतिवेदन पेश गरेको प्रतिवेदनमा गोर्खा मिडियाको शेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको निष्कर्ष निकालेको हो ।

समितिले प्रतिवेदनमा भनेको छ, ‘गोरखा मिडिया नेटवर्क प्रा.लि. लगायतमा कम्पनीहरूमा शेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हुँदा भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको कर समेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न र स्वेट शेयर सम्बन्धी कानूनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई सिफारिस गर्ने ।’

समितिले सहकारीमार्फत गोर्खा मिडियामा आएको रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेका अध्यक्ष गितेन्द्रबाबु राई, सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीलाई प्रचलित कानुन बमोजिम कारबाहीको सिफारिससमेत गरेको छ । 

रवि लामिछानेले भने आफुले सहकारी ठगि गरेको आरोपबाट मुक्त भएको दाबी गरेका छन् ।

संसद बैठकपछि बाहिर निस्किने क्रममा सभापति लामिछानेले आफुले प्रबन्ध निर्देशकको रुपमा काम गरेको र आफुले सहकारी ठगेको भन्ने विषय प्रमाणित नभएको बताएका हुन् ।

उनले भनेका छन्, ‘लगानीकर्ताले ल्याएको स्रोत हेर्ने अथोरिटी मेरो जानकारीमा हुँदैन । आएको चिजलाई एमडीको रुपमा कर्मचारीलाई तलब पनि दिनुपर्ला । मुल मुद्दा भनेको सहकारी ठगीमा मेरो संलग्नता छ वा छैन भन्ने हो । मलाई सहकारी ठग भनिएको थियो । प्रतिवेदन चाहिँ हेर्न पाएको छैन । तर, जुन विषयमा लान्छना लागेको थियो, त्यसमा समितिले स्पष्ट पारेको छ ।’