परराष्ट्रमन्त्री डा आरजु राणा क्यानाडा प्रस्थान

परराष्ट्रमन्त्री डा आरजु राणा क्यानाडा प्रस्थान



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा सोमबार साँझ क्यानाडा प्रस्थान गरेकी छन् । क्यानाडाको टोरन्टोमा यही सेप्टेम्बर १९ र २० मा आयोजना गरिएको महिला परराष्ट्रमन्त्रीहरुको बैठकमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल र मन्त्रालयका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका छन् ।

क्यानाडा र जमैकाद्वारा आयोजित सो बैठकमा विश्वका १५ भन्दा बढी देशका महिला परराष्ट्रमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ । सो सम्मेलनमा परराष्ट्रमन्त्री डा राणाले राजनीति, नेतृत्व र शासन सत्तालगायतका सार्वजनिक पदहरूमा महिलाको उपस्थिति र चुनौती विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बैठकपछि मन्त्री डा राणा अमेरिका प्रस्थान गर्नेछिन् । उनी अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सेप्टेम्बर २१ मा नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुनेछिन् । सो महासभामा प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुँदैछ ।