शिकार आरक्ष ढोरपाटनमा जैविक विविधताको संरक्षणमा चुनौती

शिकार आरक्ष ढोरपाटनमा जैविक विविधताको संरक्षणमा चुनौती



बाग्लुङ । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा जैविक विविधता संरक्षणमा बढ्दै गएको चुनौती सामनाका लागि स्थानीय पाठ्यक्रम तयार गर्नुपर्ने आवाज उठ्न थालेको छ । जलवायु परिवर्तन र जैविक विविधताको संरक्षणका लागि नयाँ पुस्तालाई तयार गर्न पाठ्यक्रम आवश्यकता रहेको शिक्षा क्षेत्रका विज्ञले बताएका छन् ।

शिकार आरक्ष वरपर रहेका निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा रहेका विद्यालयका प्रधानाध्यापक, विज्ञान शिक्षक लगायतका सरोकारवालाले पाठ्यक्रमको आवश्यकता औँल्याएका हुन् ।

‘संरक्षण शिक्षा’ सम्बन्धी स्थानीय पाठ्यक्रम तयार गरेर माध्यमिक तहका विद्यार्थीलाई पढाउन सके जलवायु परिवर्तनका कारण जैविक विविधतामा देखिने समस्यासँग अनुकूलित हुन जनस्तरमा चेतना पुग्ने उनीहरूको धारणा छ ।

बाग्लुङको बुर्तिबाङमा चार दिनसम्म चलेको कार्यशालाबाट उनीहरूले ‘संरक्षण शिक्षा’ सम्बन्धी स्थानीय पाठ्यक्रम सिकाइ युनिटको खाकासमेत तयार गरेका छन् । दिगो पर्यटन प्रवर्द्धन परियोजनाअन्तर्गत वातावरण तथा जैविक विविधता संरक्षणमा पारेको प्रभावका विषयमा आयोजित कार्यशालामा जलवायु परिवर्तन, वातावरण संरक्षण, दिगो पर्यटन प्रवर्द्धन तथा जैविक विविधताका विषयमा छलफल भएको थियो ।

ढोरपाटन र निसीखोलाका स्थानीय विषयलाई प्राथमिकतामा राखेर शुरू भएको छलफलमा पाठ्यक्रमको आवश्यकता औँल्याइएको हो ।