काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अस्थिरता निम्तिनुको एउटा कारण थ्रेस होल्ड भएको बताएका छन् ।
पार्टीले मंगलबार काठमाडौंमा गरेको ‘संविधान कार्यान्वयनको १० वर्ष : अनुभव, चुनौती र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले राष्ट्रिय दल नभएकाले पनि ह्वीप लगाउने अधिकार दिँदा दल धुव्रीकरण हुने अवस्था नआएको भनाइ उनको छ ।
स्थिरताका लागि समानुपातिक निर्वाचन प्रणालीमा थ्रेस होल्ड पाँच प्रतिशत पुर्याउने र राष्ट्रिय दल नभएकालाई ह्वीप लगाउने अधिकार दिनुपर्ने पोखरेलले बताए ।
“थ्रेस होल्ड कम राख्ने कुरा त्रुटिपूर्ण भयो । त्यसलाई कम्तीमा पाँच प्रतिशतसम्म पुर्याउन सक्ने हो भने अहिलेको तुलनामा पार्टीहरूको संख्या कम हुन्छ,” पोखरेलले भने, “दलीय अनुशासन कायम गर्न कारबाही गर्ने अधिकार प्रदेशसँग नभएको उनले बताए । ह्वीप लगाउने अधिकार राष्ट्रिय पार्टीले मात्र पाउँदछन् भन्ने ढाँचामा जाने हो भने स्थायित्वको आधार निर्माण हुँदै जान्छ ।”
महासचिव पोखरेलले ध्रुवीकरणको कानुन नदिँदा प्रदेश सरकार अस्थिर बन्न पुगेको टिप्पणी गरेका छन् । उनले दल र अदालत केन्द्रीकृत गर्ने सिद्धान्त अभ्यास गरिएको बताए ।
“प्रदेश सरकार स्थिर हुन ध्रुवीकरणको आधार कानुनले दिनुपर्थ्यो । अदालत र राजनीतिक दल केन्द्रीकृत हुन्छन् भन्ने सिद्धान्तलाई अभ्यास गर्यौँ । दल पनि केन्द्रीकृत छन्,” उनले भने ।
उनले तत्कालीन नेकपा विघटन भएपछि प्रदेशमा दलले आफ्नो अधिकार राख्न पाएको भए लुम्बिनी र गण्डकीको सरकार जोगिने पनि बताए । तर, प्रदेशमा पनि केन्द्रले अस्वीकार गरी कारबाही गर्ने गरेको सुनाए । दलीय अनुशासन कायम गर्न कारबाही गर्ने अधिकार प्रदेशसँग नभएकाले अस्थिर भएको उनको भनाइ छ ।
“संघीयताको प्रादेशिक ढाँचामा कानुन र अभ्यास उपयुक्त नहुँदा नै अस्थिरता सिर्जना भएको छ,” उनले भने, “प्रदेशलाई ह्वीप लगाउने अधिकार त दिन्छौँ । कारबाही गर्ने अधिकार छैन । कारबाही गर्ने अधिकार हुन्थ्यो भने प्रदेश बलिया हुन्थे ।”
कारबाही गर्ने अधिकार दलसम्बन्धी ऐनले केन्द्रमा मात्रै केन्द्रित गरेको उनको भनाइ छ ।
प्रतिक्रिया