रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयाे : सभापति देउवा

रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयाे : सभापति देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा एक महिने विशेष अभियानको शुभारम्भ गर्दै उनले सहकारी सम्बन्धी गठन भएको संसदीय छानबिन विशेष समितिले लामिछानेमाथि संसदमा उठेका प्रश्नहरू प्रमाणित गरेको बताए ।

देउवाले लामिछानेमाथि लागेको ठगीको आरोपबारे विश्वास नलागेको भएपनि समितिले प्रमाणित गरेको र पार्टीका महामन्त्री गगनकुमार थापाले उठान गरेको विषय सही भएको भन्दै उनले थापालाई धन्यवाद समेत दिए ।

उनले रवि लामिछाने चलाख मान्छे भएको र आफू छक्क परेको बताए । ‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ । उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले पत्याएकै थिइनँ, यस्तो छ भनेर। सहकारीको विषय। मैले वास्तवमा पत्याएकै थिइनँ, यस्तो छ भनेर,’ देउवाले भने, ‘रवि लामिछानेजी त कस्तो मान्छे हुनु हुँदोरहेछ भने, चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर । तपाईंले जित्दिनुभयो, त्यसकारण धन्यवाद तपाईंलाई ।’