रास्वपा महाधिवेशन वैशाख चौथो साता

रास्वपा महाधिवेशन वैशाख चौथो साता

स्थानीय तहको संख्या ५०० मुनि झार्न सभापति लामिछानेको प्रस्ताव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख चौथो साता पहिलो राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् । साथै उनले महाकाली मेची जनयात्रा अभियान चलाउने प्रस्ताव समेत राष्ट्रिय भेलामा राखेका हुन् ।

सभापति लामिछानेले स्थानीय तहको संख्या ७५३ बाट घटाएर ५०० मुनि राख्न पनि प्रस्ताव गरेका छन् ।

त्यस्तै उनले प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने व्यवस्था गर्नुपर्ने पनि प्रस्ताव गरेका छन् ।

‘प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने दिन सकिने उन्नत विकल्पबारे छलफल सुरू गरिनेछ। साथै विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित पाँचवटा प्रदेश मन्त्रालय रहने व्यवस्था, बहुआयामिक पहिचान झल्कने सातवटा प्रदेश, स्थानीय पालिकाको संख्या भने पाँच सयभन्दा मुनि झारिने, बलियो संघीय सरकार विस्तारित स्थानीय पालिकाको बीचमा छरितो प्रादेशिक तहबारे बहस सुरू गर्ने प्रस्ताव राख्न चाहन्छु,’ उनले भने ।

उनले यो बहस महाधिवेशनसम्म जारी राख्ने र त्यसपछि ठोसरूपमा अघि सार्ने पनि बताएका छन् ।