अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प वा ह्यारिस कसैलाई समर्थन नगर्ने प्रमुख श्रमिक संघको घोषणा

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प वा ह्यारिस कसैलाई समर्थन नगर्ने प्रमुख श्रमिक संघको घोषणा



काठमाडौं । अमेरिकाको सबैभन्दा प्रभावशाली लेबर युनियन अर्थात् मजदुर संघमध्ये एक ‘इन्टरनेशनल ब्रदरहुड अफ टिमस्टर्स’ ले अमेरिकी राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन नगर्ने घोषणा गरेको छ ।

सन् १९९६ पछि यो युनियनले कुनै पनि राष्ट्रपतिको उम्मेदवारलाई समर्थन नगरेको पहिलो पटक हो । अमेरिका र क्यानडामा गरी यो मजदुर सङ्घमा १३ लाख जना सदस्य छन् । यद्यपि युनियनले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिस दुवैले आफ्ना केही मुद्दाहरूमा प्रतिबद्धता व्यक्त गरेका बीबीसीले जनाएको छ ।

युनियनले आफ्ना साधारण सदस्यहरूको मतदानले पनि कुनै उम्मेदवारका लागि निश्चित समर्थन नगरेको दाबी पनि गरेको छ । तर यसअघि युनियनले आफ्ना सदस्यहरूबीच गरेको सर्वेक्षणमा ट्रम्पलाई एकतर्फी समर्थन गरेको सङ्केत देखिएको थियो ।

लेबर युनियनको यो निर्णयले अमेरिकाका श्रमजीवी मतदातालाई लोभ्याउन खोजिरहेकी कमला ह्यारिसलाई घाटा हुने आशङ्का गरिएको खबरमा उल्लेख छ ।

टिमस्टर्स युनियनले कसैलाई समर्थन गरेको अवस्थामा पेन्सिलभेनिया, मिशिगन र विस्कन्सिन राज्यमा चुनावी नतिजामा ठूलो अन्तर पर्छ, यी राज्यमा युनियनका हजारौं सदस्य छन् ।