अहिले देशप्रति एकताबद्ध हुने समय हो : राष्ट्रपति पौडेल

अहिले देशप्रति एकताबद्ध हुने समय हो : राष्ट्रपति पौडेल



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन् । बिहीबार शीतल निवासमा संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश बन्ने समय नभएको बताए ।

राष्ट्रपति पौडेलले अहिलेको समय एकताबद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताए । उनले आफैँभित्र आशाको दियो बाल्नुपर्ने बताए । उनले बेथिति र अनियमितताको अन्त्यमा विशेष जोड दिनुपर्ने पनि बताए । उनले बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहीन बनाएको बताए । उनले भ्रष्टाचारमा शून्य सहनशीलतालाई कडाइका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘आजका दिनमा हामीले भ्रष्टाचारमा शून्य सहनशीलतालाई कडाइका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्छ भन्ने मलाई लाग्छ । अतः हामी उत्साह र उमंगमा संविधान दिवस मनाइरहँदा आफैँभित्र आशाको नयाँ दियो बालौँ । किनभने यो निराश बन्ने समय होइन । यो हामीबिच आरोप, प्रत्यारोप गर्ने समय होइन । यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन । यो एकताबद्ध हुने समय हो । यो आफैँप्रति विश्वस्त हुने समय हो । मुलुकको समृद्धिको यात्रामा अघि बढिरहँदा राज्यलाई अझै लोकतान्त्रिक र जनमुखी बनाउनुपर्छ । राजनीतिक परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न आवश्यक छ ।’

राष्ट्रपति पौडेलले समावेशीकरण र सामाजिक न्यायप्रति प्रतिबद्द रहने तथा हाम्रा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र सभ्यतालाई साझा बनाउने तेश्रो संकल्प गर्न आग्रह पनि गरे । राष्ट्रपति पौडेलले भने, ‘भ्रातृत्व, एकता र समभाव हाम्रो जीवन पद्दति हुनेछ, सामाजिक एकता र आपसी सम्मान हाम्रो सांस्कृतिक चरित्र हुनेछ ।’