झाँक्रीलाई माधवको चेतावनी– ‘निराशा पैदा गर्ने गरी पार्टीविरुद्ध लाग्नेहरूलाई छुट छैन’

झाँक्रीलाई माधवको चेतावनी– ‘निराशा पैदा गर्ने गरी पार्टीविरुद्ध लाग्नेहरूलाई छुट छैन’


ग्लोब नेपाल
567
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले रामकुमारी झाँक्रीलाई लक्षित गर्दै पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिएका छन् । शुक्रबार काठमाडौँमा पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीकै नेता-कार्यकर्ताहरूले पार्टीमा निराशा पैदा गर्नेगरी लेख्ने र बोल्ने गरेको भन्दै पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिएका हुन् ।

केही केही साथीहरूले अनेक ढङ्गले निराशा पैदा गर्नेगरी लेख्ने गरिरहेका छन्, बोल्ने गरिरहेका छन् । त्यो तरिका गलत हो’, अध्यक्ष नेपालले भने, ‘जे लागेको छ पार्टीभित्र राख्नुस्, कमजोरी छन् भने छलफलको विषय बनाऔँला । तर चुनावमा नजितेपछि असन्तुष्टि पोख्दै हिँड्ने कुरा गलत हो त्यसलाई छुट दिन सकिँदैन ।’

यसअघि भएको पार्टी पदाधिकारी चुनावमा रामकुमारी झाँक्री उपाध्यक्ष पदमा पराजित भएकी थिइन् । त्यसपछि विभिन्न मिडियामा अन्तर्वार्ता दिएकी उनले आफू पार्टी नेतृत्वबाटै हेलामा परेको बताएकी थिइन् । पछि उनले आफ्नो फेसबूकमा उनका पूर्वअध्यक्ष अर्थात् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दै लेखेकी थिइन् ।