संविधानका प्रगतिवादी कुरालाई संशोधन गरे अर्को जनआन्दोलन हुन्छ : झलनाथ खनाल

संविधानका प्रगतिवादी कुरालाई संशोधन गरे अर्को जनआन्दोलन हुन्छ : झलनाथ खनाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले संविधान भित्रका समाजवादी पक्षहरूलाई तलमाथि हुने गरी संशोधन गरे राष्ट्रव्यापी आन्दोलन गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा भएको महाधिवेशन सन्देश सभामा बोल्दै उनले संविधान संशोधन गर्ने नाममा समाजवादी पक्षहरूलाई तलमाथि गर्ने कुरा सह्य नहुने बताए ।

उनले संविधानमा भएका पुँजीवादी र काम नलाग्ने कुरालाई हटाउन आवश्यक रहेको बताए। संविधानमा भएका प्रगतिवादी कुराहरूमध्ये कुनै पनि कुरालाई पश्चगामी ढंगले संशोधन गर्न प्रयत्न गरे देशमा अर्को जनआन्दोलन निम्तिने उनले बताएका हुन् ।

‘यो संविधान बनाएको ९ वर्ष भयो । हिजो मात्रै संविधान दिवस मनायौँ। यो संविधान एउटा सम्झौताको संविधान हो। यो संविधानभित्र पुँजीवाद पनि छ, समाजवाद पनि छ । दुई वटै कुराहरू छन् । हामी यो संविधान भित्रका समाजवादी पक्षहरुलाई तलमाथि कसैले गर्छ भने हामी त्यसका विरूद्ध फेरि राष्ट्रव्यापी आन्दोलन गर्छौं। यो संविधानको रक्षाका लागि। यो संविधानमा भएका पुँजीवादी कुराहरू, केही काम नलाग्ने कुराहरु पनि छन् । ति काम नलाग्ने कुराहरूलाई क्रमिक रुपले संशोधन गर्दै जानुपर्छ । तर संविधानलाई अहिले संशोधन गर्नुपर्छ भन्ने जुन होहल्ला यो देशका ठूला हौँ भन्ने दुई वटा पार्टीहरुले चलाइरहेका छन्, यदी त्यो संविधानमा भएका प्रगतिवादी कुरामध्ये कुनैपनि कुरालाई पश्चगामी ढंगले संशोधन गर्न प्रयत्न गरिन्छ भने त्यसले यो देशमा अर्को जनआन्दोलन निम्त्याउनेछ । दुईटा ठूला पार्टीहरूले आशा नगरे पनि हुन्छ । त्यो संविधान त्यसरी संशोधन गर्न हामी दिँदैनौँ,’ उनले भने ।